२७ जेठ, काठमाडौँ / भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका तीनै जना बालबालिकाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८, मन्मैमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो तीन जना बालबालिका बेपत्ता भएका थिए ।
बेपत्ता तीनै जना बालबालिकाको शव फेला परेको छ । बगेर बेपत्तामध्ये १२ वर्षीया आशा कुसारीको शव घटनास्थलदेखि ४ किलोमिटर दक्षिण नलगाड नगरपालिका–७, चापाखोला नजिक फेला परेको छ ।
उनको शव बेपत्ता भएको तीन दिनपछि सोमबार बेलुकी ६ बजेतिर फेला परेको जिल्ला पहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार नलगाड नगरपालिका–८, मन्मै बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीका १० वर्षीय छोरा महेशको शव यसअघि फेला परेको थियो ।
सुरेन्द्रकै छोरी १२ वर्षीया आशा भने बेपत्ता थिइन् । उनको पनि सोमबार शव फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरू तीनै जना गत शुक्रवार दिउँसो स्कुलबाट घर आएर नुहाउन भन्दै भेरी नदी पुगेका थिए ।