२०८२ अषाढ २, सोमबार

सामुदायिक स्कुलका विद्यार्थी घरमै निजीका पढ्न जान थाले

शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरूमा अध्ययनरत ५० लाख विद्यार्थी घरमा बस्न बाध्य छन् ।
सामुदायिक स्कुलका विद्यार्थी घरमै निजीका पढ्न जान थाले

१० वैशाख काठमाडौँ / शिक्षकहरू विगत २१ दिनदेखि सडक आन्दोलनमा छन् । गत चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरू सडक आन्दोलनमा रहेका हुन् ।

उनीहरूले विगतमा आफूहरूसँग गरिएको सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म सडक नछाड्ने अडान राखेका हुन् । जसले गर्दा यतिवेला देशभरका सामुदायिक विद्यालयको शैक्षिक गतिविधि ठप्प छ । विद्यार्थी भर्ना अभियानदेखि अन्य शैक्षिक गतिविधि बन्दजस्तै छ । शिक्षक तथा विद्यालय कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आउँदा विद्यालय सुनसान छ ।

शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरूमा अध्ययनरत ५० लाख विद्यार्थी घरमा बस्न बाध्य छन् । हुन त वैशाख १५ गतेदेखि औपचारिक रूपमा विद्यालय सञ्चालनमा आउनेछन् । तर पनि अहिले न भर्ना अभियानदेखि कतिपय विद्यालयमा परीक्षासमेत रोकिएका छन् । भने कतिपय विद्यालयमा परीक्षाको नतिजा प्रकाशन हुन सकेका छैनन् ।

नेपाल शिक्षक महासंघले ऐन जारी नहुँदासम्म विद्यार्थी भर्ना, एसईईको कापी परीक्षण, परीक्षालगायत कुनै पनि गतिविधिमा सहभागी नहुन भनेको छ। त्यसका लागि चैत २५ गतेदेखि शैक्षिक हडताल नै घोषणा गरेको थियो ।

सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि ठप्प रहेका वेला निजी विद्यालयमा भने पठनपाठन सुरु भइसकेको छ । देशभर ३० लाख विद्यार्थी निजी विद्यालयहरू अध्ययन गर्दै आएका छन् । निजी विद्यालयहरूले भने भर्ना अभियान र पठनपाठन सँगै अगाडि बढाएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का महासचिव आरबी कटुवालले वैशाख ७ गतेदेखि नै विद्यालयमा पठनपाठन सुरु भइसकेको बताए । सात गतेबाट अधिकांश विद्यालय लागिसके र भर्ना अभियानसमेत चलिरहेको उनको भनाइ छ । नेपाल शिक्षक महासंघको आन्दोलनका कारण केही असर नपरेको बताए ।

आर्थिक सर्वेक्षणका अनुसार करिब ७० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा र करिब ३० प्रतिशत विद्यार्थी निजी विद्यालयमा अध्ययन गर्छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस