२८ वैशाख काठमाडाैँ /सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेमा रहेको रत्नराज्य माध्यमिक विद्यालयमा देखिने दृश्य हो यो । यस्तो भव्य संरचना नेपालका सरकारी विद्यालयमा सायदै पाइन्छ । विद्यालय प्रांगणमा प्रवेश गर्ने जोकोहीलाई यहाँको संरचनाले आश्चर्यचकित बनाउँछ ।
रत्नराज्य माविले विश्वस्तरीय भौतिक सुविधा मात्र होइन, शिक्षा पनि उत्तिकै स्तरीय प्रदान गर्दै आएको छ । जुगल हिमालको काखमा अवस्थित यो विद्यालय विद्यार्थीको सपना बुन्ने थलोको रूपमा चिनिएको छ । विपन्न बालबालिकाका लागि सहारा बनेको छ ।
रत्नराज्य माविका तीन वटा विशाल भवन छन् । भवनमा कुल १३७ कोठा छन् । कक्षा कोठा, सभा हल, प्रशासनिक कक्ष, प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, आवासीय भवन र सुरक्षाकर्मीका लागि छुट्टै कोठा छन् ।
२०७२ सालको विनाशकारी भूकम्पले विद्यालयको पुरानो भवन ध्वस्त बनायो । हरेक विनाशपछि नयाँ निर्माण हुन्छ भने भने झैं चीन सरकारले एक अर्ब रुपैयाँको लगानीमा विद्यालय पुनर्निर्माण गर्ने निर्णय गर्यो ।
पहिले अप्ठ्यारो परिस्थितिमा चलिरहेको विद्यालय चिनियाँ सहयोगपछि नेपालकै आधुनिक सरकारी विद्यालयमा रूपान्तरित भयो । ‘चिनियाँ सरकारले सहयोग गरेपछि विद्यालयको कायापलट भयो’, प्रधानाध्यापक टीका पौड्यालले सुनाए ।
पहिलो लहरमा रहेको मुख्य शैक्षिक भवनमा २१ वटा अत्याधुनिक कक्षा कोठा छन्, जहाँ मार्बल बिछ्याइएको छ । विद्यार्थी चिनियाँ शैलीको आकर्षक डेस्क–बेन्चमा बसेर अध्ययन गर्छन् । भवनको हरेक तलामा छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय र खानेपानीको व्यवस्था छ ।
चीन सरकारले बनाइदिएको यो भवन विद्यालयलाई हस्तान्तरण गरिएको पाँच वर्ष भइसकेको छ । ‘हामीले कहिल्यै कल्पना गरेका थिएनौं, यस्तो वातावरणमा पढ्न पाउँछौं भनेर’ कक्षा ९ मा अध्ययनरत सुनिता अधिकारी अनुभव सुनाउँछिन्, ‘यस्तो दुर्गम ठाँउमा पनि डिजिटल प्रविधिमा पढ्न पाएका छौ ।’
कुनै समयमा २०० भन्दा कम विद्यार्थी भएको यो विद्यालयमा अहिले ५५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा २५ जना शिक्षकको स्थायी दरबन्दी छ ।
वर्षेनि विद्यार्थी संख्या बढ्दो छ । अहिले त विद्यालयको क्षमताले धान्नै नसक्ने अवस्था छ । विद्यार्थी छनोट गरेर मात्र भर्ना लिनुपर्ने अवस्था सिर्जना भएको छ ।
विद्यालयले शिक्षालाई जीवनसँग जोड्ने प्रयास गरिरहेको छ । ‘पढ्दै कमाउँदै’ भन्ने अवधारणा अन्तर्गत उत्पादनमुखी कार्यमा संलग्न गराइएको छ । सिभिल इन्जिनियरिङका विद्यार्थीले वर्कसपमा काम गर्ने र डस्टबिन जस्ता उपयोगी वस्तुहरू निर्माण गर्न थालेका छन् ।