१६ जेठ काठमाडौं / नेपाल गल्फ संघले नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको ११औँ संस्करण आयोजना गर्ने भएको छ । आयोजक संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेपालमा आयोजना हुने यस प्रतिष्ठित प्रतियोगिता आगामी मंगलबार (जेठ २०)देखि बिहीबारसम्म ७२ पारको गोकर्ण गल्फ क्लबमा आयोजना हुने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष टासी घले र महासचिव दीपक आचार्यको उपस्थिति थियो । तीनदिने ५४–होलको प्रतिस्पर्धामा नेपालसहित दक्षिण एसियाका बंगलादेश, श्रीलंका, भुटान र भारतका गरी कुल पाँच राष्ट्रका खेलाडीहरूले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्नेछन् ।
दक्षिण एसियाका सातै देशलाई प्रतियोगितामा सहभागिताका निम्ति निमन्त्रणा गरिए पनि पाकिस्तान र माल्दिभ्सले प्राविधिक कारण देखाउँदै सहभागिता हुन नसक्ने जनाएको संघका महासचिव आचार्यले जानकारी दिए । हामीले दक्षिण एसियाका सातै देशमा प्रतियोगिताको निमन्त्रणा पठाएका थियौँ । तर, पाकिस्तान र माल्दिभ्सले उहाँहरूकै कारणले आउन सक्नुभएन,” महासचिव आचार्यले भने ।
पुरूषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ । पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई–दुई खेलाडी चयन गर्नेछन् र ३६ होलपछिको समग्र स्कोरका आधारमा विजेता घोषणा गरिने छ । आयोजकका अनुसार नेपालले प्रतियोगितामा दुई टिम सहभागी गराउने छ । प्रतियोगिताको व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागु गरिने छ । सहभागी खेलाडीमध्ये उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि
स्थान सुरक्षित गर्नेछन् । महिला स्पर्धामा नेपाल र भारतका खेलाडीहरूको सहभागिता रहनेछ । प्रतियोगितामा हालसम्म ४५ पुरुष र १० महिला गल्फरको सहभागिता रहने निश्चित भएको छ । आइतबारसम्म खेलाडीको नाम दर्ता गर्ने समय रहेकोले यो संख्या बढ्न सक्ने आयोजकको अनुमान छ ।