७ जेठ काठमाडौं / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्विट्जरल्यान्डको जेनेभामा जारी ७८औँ विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले सबैमा स्वास्थ्य पहुँचका निम्ति विश्वव्यापी सहकार्यमा जोड दिएका छन् ।
यसमा विश्व स्वास्थ्य संगठनको भूमिका अझ महत्त्वपूर्ण देखिएको उनले बताए । नेपालले विद्यमान स्वास्थ्य चुनौती सामना गर्न नवीन समाधानको खोजी गरिरहेको उनले बताए ।
मन्त्री पौडेलले महामारी नियन्त्रण पूर्वतयारीका लागि समतामूलक स्वास्थ्य सेवा र दह्रिलो विश्वव्यापी सहकार्य आवश्यक भन्दै महामारी नियन्त्रणका लागि संगठनले गरेको सम्झौताको स्वागत गरे । मन्त्री पौडेलले यसका लागि सदस्य राष्ट्रबीच बलियो सहकार्यका लागि आह्वान समेत गरे ।
मन्त्री प्रदीप पौडेलले नेपालले मातृ शिशु मृत्युदर न्यूनीकरण तथा पोलियो उन्मूलनमा प्राप्त गरेको सफलताबारे विश्व समुदायलाई जानकारी गराएका छन् । नेपालले खोपको पहुँच विस्तारमा समेत प्रगति गरेको उल्लेख गर्दै पोलियो उन्मुलनसँगै सबै तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको उल्लेख गरेका छन् ।
‘महिला सामाजिक स्वास्थ्य स्वयंसेविका तथा विद्यालय स्वास्थ्य कार्यक्रममार्फत सकारात्मक नतिजा प्राप्त गरेका छौँ,’ मन्त्री पौडेलले भने । सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा नेपालले पहल थालेको भन्दै मन्त्री पौडेलले यसले सकारात्मक नतिजा दिने विश्वास गरे ।
नेपालले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको चर्चा गर्दै उनले निरोधात्मक स्वास्थ्य सेवा, महामारी पूर्वतयारी तथा डिजिटल स्वास्थ्यमा समेत जोड दिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
नेपालसामु बढिरहेको वृद्ध जनसंख्या, न्यून जन्मदर, आन्तरिक बसाइसराइ तथा नसर्ने रोग र मानसिक रोगजस्ता स्वास्थ्य चुनौती खडा भएकाले यसको सामनाका लागि विश्व समुदायसँग सहकार्यका लागि उनले आग्रह गरे ।