२१ वैहशाख काठमाडौँ / बाढीले डाइभर्सन बगाउँदा मकवानपुर र ललितपुरको सिमानामा पर्ने कान्ति लोकपथ सडक बन्द भएको छ ।
आइतबार बिहान भएको वर्षापछि आएको बाढीले मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को बीचमा पर्ने बागमती नदीमा बनाइएको अस्थायी डाइभर्सन मार्ग बगाएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर र ललितपुरबीच बागमती नदीमा बनाइएको डाइभर्सन बाढीले बगाएपछि कान्ति लोकपथ बन्द भएको हो । आज बिहान ६ः१५ बजेतिर डाइभर्सन भताभुंग भएपछि उक्त सडकखण्डमा सवारीसाधन आवतजावत पूर्ण रूपमा रोकिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम अर्यालले जानकारी दिए ।
उनका अनुसार घटनास्थलमा प्रहरीको टोली परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको छ । यद्यपि डाइभर्सन नै बगाएपछि सडक खुलाउन समस्या देखिने भएको छ ।
सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ आउजाउ गर्ने यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । निरन्तर वर्षा भइरहेकाले थप जोखिम हुन सक्ने भन्दै सावधानी अपनाउन मकवानपुर प्रहरीले यात्रु तथा चालकलाई आग्रह गरेबका छन् ।