९ वैशाख, काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले शिक्षक–कर्मचारी सहभागिता नभए पनि कक्षा १२ को परीक्षा ११ वैशाख बिहाबारदेखि नै सञ्चालन गर्ने निर्णय गर्यो । मंगलबार बिहान बसेको बोर्ड बैठकले सबै संयन्त्र प्रयोग गरेर तोकिएकै समयमा परीक्षा गर्ने निर्णय गरेको हो ।
परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षकहरूको अडान कायम छ । ‘शिक्षकका मागमा यसअघि भएका सहमति कार्यान्वयन गर्न भन्दा पनि सरकार आन्दोलनलाई दमन गर्ने षड्यन्त्रमा देखिएको छ । रित्तै घर फर्काउन खोजेको छ । यस्तोमा शिक्षकहरू केन्द्राध्यक्ष र निरीक्षक नबस्ने अडानमा यथावत छौं,’ सहअध्यक्ष पराजुलीले भनिन्, ‘जर्बजस्ती परीक्षा कसरी हुन्छ, हेर्छौं । शिक्षक कर्मचारीको सहमति सहयोगबिना शिक्षा क्षेत्र सञ्चालन गर्न मालिकलाई हाम्रो चुनौती छ ।’
बोर्डका अध्यक्ष महाश्रम शर्मा सरले दुई साता जति सार्दा क्यालेन्डर प्रभावित नहुने भन्नुभएको थियो । २१ दिनदेखि हामी आन्दोलनमा छौंं । बिहान आन्दोलनमा पुगेपछि कर्मचारी परिचालन गरेर परीक्षा गर्ने निर्णय सुन्यौं । शिक्षकबिना नै परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण हुन्छ भने ठिकै छ । त्यो बोर्डको कुरा हो, महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेको महासंघले सरकारले दम्भ देखाएको टिप्प्णी गरेको छ । ‘सरकारले दम्भ देखायो । शिक्षक कर्मचारीलाई बाइपास गरेर परीक्षा सञ्चालन गर्छौं भन्नु भएको छ । कति सफल हुने रहेछ हामी पनि हेर्र्छौं,’ उनले भनिन्, ‘शिक्षकलाई अपमान गर्नुभएको छ । अपमानित हुने पालो उहाँहरूको पनि आउँछ ।’