२२ जेठ काठमाडौँ / दाङको तुलसीपुरमा दुई किशोरबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।
कुटाकुटपछि घाइते भएका १५ वर्षीय बिराज गिरीको उपचारका क्रममा बिहीबार बिहान पौने ३ बजे बाँकेको नेपालगन्जस्थित नर्सिङहोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानामगरले जानकारी दिए ।
रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाका गिरी अध्ययनका लागि दाङको तुलसीपुर उपमहानगरपालिका– ८ दुधेनामा डेरामा बस्दै आएका थिए ।
जेठ १९ गते साढे ५ बजेतिर विद्यालयबाट घर फर्किँदै गरेका स्थानीय १५ वर्षीय यज्ञ वली र गिरीबीच तुलसीपुर – ९ बेलुवामा कुटाकुट भएको थियो ।
प्रहरी हिरासतमा रहेका वलीका अनुसार सुरुमा गिरीले उनीमाथि कुटपिट गरेका थिए । त्यसपछि आफूले गिरीलाई दुई मुक्का प्रहार गरेको उनले प्रहरीलाई दिएको बयानमा बताएका छन् ।
प्रहरी अनुसन्धानअनुसार कुटाकुटपछि उनीहरु दुबै जना सँगै नजिकैको स्कुलको क्यान्टिनमा गइ पानी पिएका थिए । पानी पिएपछि गिरी एकाएक ढलेका थिए ।
उनीहरू दुबै श्री माध्यमिक विद्यालय दोघरेमा पढ्दै थिए। मृतकले रुकुममै गएर परीक्षा दिएका थिए। फेरि उनी अध्यनका लागि दाङ आए पनि भर्ना भने भइसकेका थिएनन् ।
गिरीलाई कुटपिट गर्ने यज्ञ वली प्रहरी नियन्त्रणमा छन् । वली अहिले कक्षा ९ मा अध्यनरत छन् ।
प्रहरीका अनुसार उनीहरुबीच सामाजिक सञ्जाल फेसबुकमा आपसमा गालीगलौज भएको थियो । भेट हुँदा उनीहरुबीच सोही विषयमा विवाद हुँदै कुटाकुट भएको थियो ।