
२३ मंसिर, काठमाडौं / गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज भेट गर्दै निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्रीहरु सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका हुन् । भेटमा भारतीय अतिरिक्त सचिवले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपद् बाट क्षति भएका संरचनाको पुनर्स्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणासमेत दिए । सो क्रममा गृहमन्त्री अर्यालले कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गरे ।
सीमा अपराध रोकथाम गर्न दुवैतर्फका सीमा सुरक्षा सङ्गठनको क्षमता अभिवृद्धि र सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्री अर्यालले जोड दिए ।