
२१ मंसिर, जनकपुरधाम / मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् भने उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् ।
कांग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । यादवलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् ।
कांग्रेस दलका नेता यादवलाई गठबन्धनका दलहरुले मुख्यमन्त्रीको रुपमा चयन गरेका हुन् भने उनले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्दैछन् ।