१९ वैशाख काठमाडौं / भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको शव प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएर घटनास्थलबाट अन्यत्र लगेको जनाएको छ ।
विश्वविद्यालय होस्टेलको १११ नम्बर कोठामा उनको शव झुन्डिएको अवस्थामा भेटिएको भनेर कलेज प्रशासनले भनेको छ । तर, प्रहरी पुग्नुअघि नै उनको शव विश्वविद्यालयका कर्मचारीले निकालेका पाइएको हो ।
ओडिशाको इन्फोसिटी प्रहरी कार्यालयमा कार्यरत एक कन्स्टेबल निराकर खटुआले शव प्रहरीले ननिकालेको बताएका छन् । पोस्टमार्टमका निम्ति अस्पताल गएका खटुआले शव कलेजको मेडिकल इमर्जेन्सी वार्डबाट प्रहरीले भुवनेश्वरस्थित एम्स अस्पतालमा ल्याएको बताए । यसअनुसार शव प्रहरीले नभएर कलेजका कर्मचारीले नै होस्टेलबाट निकालेका हुन सक्ने पत्रिकाले उल्लेख गरेको छ ।
कन्स्टेबल खटुआले भने, “हामी घटनास्थलमा पुग्दा शव खाटमा पल्टिएको अवस्थामा थियो । पछि मैले यसलाई पोस्टमार्टमका निम्ति ल्याएँ । हामीले यो झुन्डिएको देखेका छैनौँ ।”
यो कार्यले कलेजप्रति केही आशंका रहेकाले अतिरिक्त अनुसन्धानको आवश्यकता औँल्याइएको छ । यो विषयमा विश्वविद्यालयका अधिकारीले कुनै टिप्पणी नगरेको उक्त अनलाइन पत्रिकाले उल्लेख गरेको छ ।
उक्त होस्टेलमा तीन महिनाभित्र नेपाली छात्राको मृत्यु भएको यो दोस्रो घटना हो । १८ वर्षीया प्रिसा पर्साको वीरगन्ज निवासी हुन् । सोही होस्टेलमा यसअघि नेपाली विद्यार्थी २० वर्षीया प्रकृति लम्साल मृत फेला परेकी थिइन् ।