२०८२ अषाढ १७, मंगलबार

हावाहुरीले उडायो घरको छानो, करेन्टले लियो उपेशको प्राण

विद्युत पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर उपेश मृत्यु भएको हो ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ५, आईतबार
हावाहुरीले उडायो घरको छानो, करेन्टले लियो उपेशको प्राण

४ जेठ, काठमाडौं / उपेश नेपालीको घर सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथान हो । उपेश मजुरीका लागि धुलिखेलमा थिए । तर, धुलिखेलबाट उनी घारिबथान फर्किएनन् । मजदुरीकै क्रममा करेन्टले लियो उनको प्राण

उपेशको शनिबार धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
उनको धुलिखेलमा मृत्यु भयो । केही दिनअघि (जेठ १ गते) मात्रै घारिबथानमा घरको छानो हावाले उडाइदिएको थियो । घरको छानो उडाएपछि अप्ठेरोमा परेको परियारमा अहिले ठूलो बज्रपात परेको छ ।

घारिबथानस्थित गोपी चोकमा रहेको उपेशको घरको छानो अहिले पनि नजिकै बारीमा अलपत्र रहेको छ । ईश्वरपुर नगरपालिका–१२ का वडाध्यक्ष देविबहादुर खत्री (शिव)ले शनिबार बिहानमात्र रश्मिलालाई सहयोगको पहल गर्न भन्दै निवेदन लिएर आउन भनेका थिए । त्यसैबेला दुःखद् खबर सुनेको वडाध्यक्ष खत्रीले बताए ।

‘घरको छानो उडाएको परियारको परिवारलाई कहीँकतैबाट राहत उपलब्ध गराउन सकिन्छ कि भनी पहल गरिरहेका बेला एक्कासी दुःखद् घटना भएको खबर आयो’, वडाध्यक्ष खत्रीले भने, ‘ जेनतेन गुजारा चलाइरहेको उपेशको परिवारमा उनको मृत्युपछि थप दयनीय अवस्था सिर्जना भएको छ ।’

हावाहुरीले घरको छानो उडाएपछि सबै गाउँले मिलेर चन्दा संकलन गरी घरको छानो हाल्न सहयोग गर्ने सोच बनाइरहेका बेला उपेशको मृत्यु भएको खबरले गाउँ नै स्तब्ध बनेको छिमेकी प्रदीप खत्रीले बताए ।

उपेशको घरमा बुबा, आमा, श्रीमती र दुईजना बालबच्चा छन् । उपेशको करेन्ट लागेर मृत्यु भएपछि श्रीमती रश्मिला धुलिखेल आइपुगेकी छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस