२२ जेठ काठमाडौँ / सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ११ मा निर्माणधीन नगर अस्पताल अन्ततः अन्तिम चरणमा पुगेको छ । अब गुणस्तरीय स्वास्थ्य सेवा मेलम्चीवासीको आँगनमै पुग्ने दिन टाढा छैन ।
यो अस्पताल केवल इँटा, सिमेन्ट र ढलानको संरचना होइन, मेलम्चीका स्थानीय बासिन्दाको दीर्घकालीन सपना, संघर्ष र सामूहिक प्रयासको मूर्त रुप हो ।
नगरवासीको लामो प्रतीक्षा, स्थानीय तहदेखि केन्द्रसम्मको सहकार्य र नेतृत्वको सक्रियताबाट यो संरचना आज यो अवस्थामा पुगेको हो । मेलम्ची नगर अस्पतालको शुरुवात तत्कालीन एमाले सरकारले एक पालिका एक अस्पतालको निति बनाए पस्चात शरु भएको हो ।
यो अस्पतालको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३९६ वटा अस्पतालको संयुक्त शिलान्यास गर्दा गरिएको थियो । त्यसमध्ये एक मेलम्ची नगर अस्पताल पनि हो । सो समयमा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङको विशेष पहलमा यो परियोजना अघि बढेको हो ।
अहिले तामाङ मेलम्ची क्षेत्रका पार्टी प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिसँगै निर्माणाधीन अस्पतालको निरीक्षणमा व्यस्त छन् । यो अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा अपग्रेड गर्ने प्रक्रिया अगाडी बढिसकेको तामाङ्ग बताउनुहुन्छ ।