
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालक अर्जुन दोङले अरू व्यक्तिको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
रिद्धिसिद्धी यातायातको बा. ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा चालक दोङ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।
प्रहरीका अनुसार दोङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका हुन् । उनी २०८२ साल कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा समेत संलग्न रहेको र उक्त घटनापछि फरार रहेको खुलेको छ ।
अनुसन्धानका क्रममा बालाजु घटनामा दोङले सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको एसएसपी घिमिरेले बताए ।
यस्तै, करिब तीन महिनाअघि काठमाडौंको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा पनि उनले दावा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ ।
त्रिपुरेश्वरको घटनामा समेत दोङले दावा तामाङको नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
दोङले अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजातसमेत प्रयोग गरेको हुन सक्ने भन्दै प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
मंगलबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भेटिएका दुई महिलाले आफूहरू अर्जुन दोङका श्रीमती भएको बताएका छन् ।
प्रहरीका अनुसार दोङका दुईवटी श्रीमती रहेको खुलेको छ । उनीहरूको सम्बन्ध तथा अन्य विवरणबारे समेत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्रिपुरेश्वरमा भएको बस आगलागी र चालकको मृत्युको घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।