२०८३ कार्तिक २, आईतबार

अस्ट्रेलिया विद्यार्थी भिसा

अस्ट्रेलियाको विद्यार्थी भिसामा कडाइ : कोर्स हपिङदेखि परिवार बोलाउने बाटोसम्म नयाँ नियम

विद्यार्थी भिसाका लागि देशबाहिरबाट आवेदन गर्नुपर्ने, परिवार पछि बोलाउने बाटो साँघुरियो
अस्ट्रेलियाको विद्यार्थी भिसामा कडाइ : कोर्स हपिङदेखि परिवार बोलाउने बाटोसम्म नयाँ नियम

१८ असोज, क्यानबेरा । अस्ट्रेलियाले विदेशी विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ। अस्ट्रेलिया प्रवेश गर्नेदेखि त्यहाँ पुगेपछि पटक–पटक कोर्स वा शिक्षा संस्था परिवर्तन गर्दै बसाइँ लम्ब्याउने र पछि परिवार बोलाउने प्रक्रियामा समेत सरकारले कडाइ गरेको हो।

२ अक्टोबर २०२६ देखि लागू भएको नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियाभित्रै बसेर विद्यार्थी भिसा लिन खोज्ने अधिकांश अस्थायी भिसाधारीले अब देशबाहिरबाट आवेदन दिनुपर्नेछ। हाल विद्यार्थी भिसामा रहेका व्यक्तिले अर्को विद्यार्थी भिसाका लागि आवेदन दिँदा पनि अधिकांश अवस्थामा यही नियम लागू हुनेछ।

देशबाहिरबाट आवेदन दिनुपर्ने अवस्थामा भिसा स्वीकृत हुँदासमेत आवेदक अस्ट्रेलियाबाहिरै हुनुपर्ने व्यवस्था गरिएको छ। यसले अस्ट्रेलिया पुगेपछि अध्ययनको तह वा योजना परिवर्तन गर्दा पहिलेझैँ देशभित्रै बसेर अर्को विद्यार्थी भिसा थप्ने विकल्प धेरै विद्यार्थीका लागि कठिन बनाएको छ।

यद्यपि, अध्ययन पूरा गर्न थप १२ महिना आवश्यक पर्ने विद्यार्थी, विद्यावारिधि अध्ययनमा जाने, अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभाग वा रक्षा निकायबाट प्रायोजित विद्यार्थी, विद्यालय तहका विद्यार्थी तथा केही विशेष अवस्थालाई भने छुट दिइएको छ। शिक्षा प्रदायकको समस्या वा संस्थागत कारणले अध्ययन निरन्तरतामा असर परेका केही विद्यार्थीका लागि पनि छुटको व्यवस्था छ।

परिवार पछि बोलाउने बाटो पनि साँघुरियो

नयाँ व्यवस्थाको अर्को महत्वपूर्ण असर विद्यार्थीका परिवारमाथि पर्ने देखिएको छ।

अब अधिकांश विद्यार्थीले नयाँ विद्यार्थी भिसाको आवेदनमै श्रीमान्, श्रीमती वा आश्रित सन्तानलाई समावेश गर्न पाउने छैनन्। विद्यार्थी भिसा स्वीकृत भएपछि पछि परिवारलाई ‘सब्सिक्वेन्ट इन्ट्रेन्ट’का रूपमा बोलाउने व्यवस्था पनि सामान्य अवस्थामा हटाइएको छ।

यसको अर्थ विद्यार्थी पहिले एक्लै अस्ट्रेलिया जाने र पछि त्यही विद्यार्थी भिसाका आधारमा परिवार बोलाउने पुरानो बाटो अब अधिकांश अवस्थामा उपलब्ध हुने छैन।

तर विद्यावारिधि, अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभाग वा रक्षा निकायबाट प्रायोजित अध्ययन, विदेशी सरकारी छात्रवृत्ति तथा योग्य प्रशान्त र आसियान क्षेत्रका विद्यार्थीका लागि केही अपवाद राखिएको छ।

‘कोर्स हपिङ’ माथि पनि निगरानी

अस्ट्रेलियाले विद्यार्थी भिसामा मात्र नभई विद्यार्थीले अस्ट्रेलिया पुगेपछि कलेज तथा कोर्स परिवर्तन गर्ने अभ्यासमाथि पनि निगरानी बढाएको छ।

२ अक्टोबरदेखि गैरविद्यालय क्षेत्रमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले एउटै शिक्षा प्रदायकको मुख्य कोर्समा कम्तीमा १२ महिना पूरा नगरी अर्को प्रदायकमा सर्न पाउने अवधि अस्थायी रूपमा बढाइएको छ। यो व्यवस्था ३० जुन २०२७ सम्म लागू हुनेछ। त्यसपछि १ जुलाई २०२७ देखि पुनः ६ महिनाको प्रावधानमा फर्कने बताइएको छ।

त्यसैगरी, २०२७ को मध्यदेखि नयाँ विद्यार्थी भिसा ‘ट्रान्सफर स्ट्रिम’ ल्याउने तयारी गरिएको छ। यसको उद्देश्य अस्ट्रेलिया पुगेपछि कम तह वा कम गुणस्तरका कोर्समा सर्दै विद्यार्थी भिसाको अवधि लम्ब्याउने प्रवृत्ति नियन्त्रण गर्नु हो।

यससँगै अस्ट्रेलियाको निगरानी विद्यार्थी भिसा पाउँदासम्म मात्र सीमित नरहने देखिएको छ। विद्यार्थीले अस्ट्रेलिया पुगेपछि के पढ्यो, किन शिक्षा संस्था परिवर्तन गर्‍यो र अध्ययनको नाममा भिसा अवधि लम्ब्याउने प्रयास त गरिरहेको छैन भन्ने विषयमा समेत कडाइ गरिने भएको छ।

एउटा कोर्समै नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना रोकियो

नयाँ नियम लागू भएको भोलिपल्टदेखि अस्ट्रेलियाले ‘ग्राजुएट डिप्लोमा अफ म्यानेजमेन्ट (लर्निङ)’ नामको पाठ्यक्रममा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नासमेत रोक्ने निर्णय गरेको छ।

५ अक्टोबरदेखि उक्त पाठ्यक्रममा नयाँ विद्यार्थी भर्ना गर्न नपाइने भएको हो। सरकारले उक्त पाठ्यक्रममा विद्यार्थी भर्नाको ढाँचा तथा संस्थागत गतिविधिमा प्रणालीगत भिसा इमानदारीसम्बन्धी समस्या देखिएको जनाएको छ।

तर यसअघि नै अध्ययनरत विद्यार्थीले भने आफ्नो अध्ययन पूरा गर्न पाउनेछन्।

सरकारका अनुसार पाठ्यक्रम बन्द गर्ने सूचना आएपछि केही शिक्षा प्रदायकले समयसीमा छल्न खोजेका थिए। त्यस क्रममा १ हजार ३ सयभन्दा बढी नयाँ ‘कन्फर्मेसन अफ इनरोलमेन्ट’ जारी भएको र १ हजार ५ सयभन्दा बढी विद्यार्थीको अध्ययन सुरु हुने मिति अगाडि सारिएको सरकारी दाबी छ।

नेपाली विद्यार्थीमा पनि प्रत्यक्ष असर

अस्ट्रेलियाले विद्यार्थी भिसामा गरेको पछिल्लो कडाइ नेपाली विद्यार्थीका लागि पनि महत्वपूर्ण हुने देखिएको छ।

अस्ट्रेलियाको गृह मामिला विभागका अनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपाली नागरिकलाई ३१ हजार ८६९ विद्यार्थी भिसा प्रदान गरिएको थियो। यो अस्ट्रेलियाले एक वर्षमा दिएको कुल विद्यार्थी भिसाको ८.६ प्रतिशत हो। विद्यार्थी भिसा पाउने देशमध्ये नेपाल तेस्रो स्थानमा थियो।

त्यसैगरी, जुन २०२६ सम्मको अस्ट्रेलियाली शिक्षा विभागको तथ्यांकअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थीको हिस्सा करिब ९ प्रतिशत रहेको छ।

यस अवधिमा अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको कुल भर्ना अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत र नयाँ विद्यार्थीको संख्या ९ प्रतिशत घटेको थियो।

यसले नेपाली विद्यार्थी अस्ट्रेलियाको शिक्षा प्रणालीमा ठूलो हिस्साका रूपमा रहेको देखाउँछ। त्यसैले नयाँ भिसा नियमले नेपाली विद्यार्थीको अध्ययन योजना, आर्थिक तयारी, परिवारसँगको बसाइँ तथा भविष्यको बसाइँसराइ योजनामा समेत प्रभाव पार्न सक्ने देखिन्छ।

सिड्नीका रजिस्टर्ड माइग्रेसन एजेन्ट निरज श्रेष्ठका अनुसार नयाँ व्यवस्था विशेषगरी अस्ट्रेलियाभित्रै बसेर अर्को विद्यार्थी भिसा लिने तयारीमा रहेका तथा अध्ययनको तह वा विषय परिवर्तन गर्न चाहने विद्यार्थीका लागि महत्वपूर्ण छ।

उनका अनुसार कतिपय विद्यार्थीले नयाँ भिसा प्रक्रियाका लागि देशबाहिर जानुपर्ने हुन सक्छ। यसले हवाई यात्रा, बसाइँ तथा आवेदनसँग सम्बन्धित अतिरिक्त खर्च थपिन सक्छ।

पहिलेदेखि परिवारसहित अस्ट्रेलियामा रहेका विद्यार्थीका लागि भने आफू कुन अपवादभित्र पर्छु भन्ने विषय अझ महत्वपूर्ण भएको श्रेष्ठले बताए।

उनका अनुसार नयाँ व्यवस्थाको मुख्य उद्देश्य वास्तविक अध्ययनभन्दा भिसा र बसाइँलाई प्राथमिकता दिने ‘भिसा हपिङ’ तथा ‘कोर्स हपिङ’ नियन्त्रण गर्नु हो। तर यसको प्रभाव वास्तविक विद्यार्थीमा समेत पर्न सक्ने भएकाले आवेदन गर्नुअघि आफ्नो अवस्था र लागू हुने छुटबारे स्पष्ट जानकारी लिनुपर्ने उनले बताए।

विद्यार्थीले अब के कुरामा ध्यान दिने ?

नयाँ नियमपछि अस्ट्रेलियामा अध्ययनका लागि जाने विद्यार्थीले पहिलेभन्दा बढी योजनाबद्ध तयारी गर्नुपर्ने भएको छ।

अस्ट्रेलिया पुगेपछि पुनः विद्यार्थी भिसा लिनुपर्ने अवस्था आउन सक्छ कि सक्दैन, कलेज वा कोर्स परिवर्तनको सम्भावना कति छ, पछि परिवार बोलाउने योजना छ कि छैन तथा आफू कुनै अपवादभित्र पर्छु कि पर्दिनँ भन्ने विषय आवेदनअघि नै जाँच गर्नुपर्ने देखिएको छ।

अस्ट्रेलियाको गृह मामिला विभागले नयाँ नियम लागू भएपछि गलत स्थानबाट गरिएको आवेदन अमान्य हुन सक्ने र त्यसले भविष्यको भिसा अवस्थासमेत प्रभावित पार्न सक्ने चेतावनी दिएको छ।

त्यसैले शिक्षा प्रदायक वा एजेन्टको मौखिक सुझावमा मात्र भर नपरी आधिकारिक नियम तथा आफ्नो व्यक्तिगत अवस्थाअनुसार प्रक्रिया बुझेर अघि बढ्न विद्यार्थीलाई आग्रह गरिएको छ।

अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई पूर्ण रूपमा रोक्न खोजेको नभए पनि विद्यार्थी भिसा लिएर प्रवेश गरेपछि पढाइभन्दा बाहिरका माध्यमबाट अस्थायी बसाइँलाई निरन्तरता दिने सम्भावनालाई भने क्रमशः बन्द गर्दै लगेको देखिन्छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस