
काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति पनि हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।
रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।