
काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले नयाँ प्रणालीमार्फत छपाइ थालेको हो।
नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप सहज र छिटो बनाउने विभागको अपेक्षा छ।
ईडीएलभीआरएसमा अपलोड भएका सेवाग्राहीका विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ। त्यसपछि सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ।
यस व्यवस्थाबाट लाइसेन्स छपाइ तथा वितरणमा लामो समयदेखि देखिँदै आएको समस्या कम हुने मन्त्रालयले जनाएको छ।
नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ।
प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था पनि गरिएको छ। सोहीअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ।
यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी सवारी चालक अनुमतिपत्र छपाइको काम सुरु गरेको छ।
कुनै प्रदेशले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग तथा सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गर्ने व्यवस्था गरिएको छ।
नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै प्रदेशअनुसार लाइसेन्स छपाइको जिम्मेवारी व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज, छिटो र समयमै सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था अघि बढाइएको विभागले जनाएको छ।