
२३ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता तथा नेपाल–बहराइन अन्तर्राष्ट्रिय फुटबल खेलसँग सम्बन्धित प्रकरणमा उनीहरूलाई प्रतिवादी बनाएको हो ।
मुद्दा दायर गरिएकामा एन्फा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे रहेका छन् । सरकारी वकिल कार्यालयले खेलकुद विकास ऐन, २०७७ को दफा ३३ को (ग) तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा ३ (क) अनुसार कारबाहीको मागदाबी गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले मुद्दा अघि बढाएको हो । सीआईबीको अनुसन्धानले एन्फाको नेतृत्वबाट विभिन्न विषयमा अनियमितता भएको निष्कर्ष निकालेको थियो ।
सीआईबीको प्रतिवेदनअनुसार सन् २०२४ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेल नेपालमा हुन नसक्ने अवस्था सिर्जना गर्न एन्फा नेतृत्वको भूमिका रहेको निष्कर्ष निकालिएको छ ।
दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य हुने गरी गतिविधि गरिएको र एसियाली फुटबल महासंघ (एएफसी) ले तटस्थ मैदानमा खेलाउन निर्देशन दिनुअघि नै एन्फा महासचिव राईले बहराइनमा खेल सञ्चालन गर्ने सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, बहराइन फुटबल संघबाट टिकट बिक्रीको राजस्वबापत प्राप्त हुनुपर्ने २० हजार अमेरिकी डलर एन्फाको संस्थागत खातामा जम्मा नभएको प्रतिवेदनमा उल्लेख छ । खेलका लागि बहराइनका खेलाडी तथा पदाधिकारीको हवाई टिकट खर्चबापत ३८ लाख ५८ हजार रुपैयाँभन्दा बढी रकम एन्फाको खातामा जम्मा भएको विषयलाई पनि अनुसन्धानले औँल्याएको छ ।
सीआईबीले केल्मी ब्रान्डका खेल सामग्री खरिदमा पनि अनियमितता भएको निष्कर्ष निकालेको छ । १० लाख रुपैयाँभन्दा माथिको खरिदमा बोलपत्र प्रक्रिया अपनाउनुपर्ने व्यवस्था पालना नगरिएको र खरिद प्रक्रियामा सहभागी तीन कम्पनी एउटै स्वामित्वअन्तर्गत रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।
पछिल्ला साढे तीन वर्षमा एन्फाले करिब १४ देखि १५ करोड रुपैयाँ बराबरका खेल सामग्री खरिद गरेको र ती सामग्री वितरणमा समेत अनियमितता भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी, फिफाबाट प्राप्त विश्वकपका ३३० अनलाइन टिकटको वितरण तथा बिक्रीमा पारदर्शिता नदेखिएको र शेर्पा आउटडुअरसँगको खेल सामग्री खरिद तथा प्रायोजन रकममा पनि अनियमितता भएको सीआईबीको निष्कर्ष छ ।
मुद्दा दायर गरिएका चार जनामध्ये एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे सीआईबीको नियन्त्रणमा रहेको जनाइएको छ ।
अध्यक्ष नेम्बाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतबाट म्याद जारी गरिदिन सरकारी वकिल कार्यालयले अनुरोध गरेको छ ।
सीआईबीको अनुसन्धानअनुसार एन्फाका पदाधिकारीले सम्बन्धित मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को अनुमति नलिई सम्झौता गर्ने, विदेश भ्रमणमा टोली लैजाने तथा खरिद प्रक्रियामा अनियमितता गर्ने कार्यमा संलग्न रहेको निष्कर्ष निकालिएको छ ।