काठमाडौं, ८ असोज । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो। अब उक्त निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने बताइएको छ।
एमालेले गत फागुनको निर्वाचनपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा पार्टी सदस्यता खुलाउने निर्णय गरेको थियो। त्यसअघि राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पुनः पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै भण्डारीको पार्टी सदस्यता रोकिएको थियो।
सात वर्षभन्दा बढी राष्ट्रपति पदमा रहेर बाहिरिएकी भण्डारीले पुनः सक्रिय पार्टी राजनीतिमा फर्कने इच्छा व्यक्त गर्दै आएकी थिइन्।
पार्टीभित्र उनको सम्भावित पुनरागमनलाई लिएर लामो समयदेखि छलफल हुँदै आएको थियो। पछिल्लो निर्णयसँगै भण्डारीलाई पार्टीको वरिष्ठ नेताका रूपमा अघि बढाउने प्रक्रिया सुरु भएको छ।