२०८३ आश्विन १, बिहिबार

कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको उपचारका क्रममा निधन भएको छ

कर्णालीका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन

कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको उपचारका क्रममा निधन भएको छ
कर्णालीका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन

सुर्खेत । कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन भएको छ।

पारिवारिक स्रोतका अनुसार बुधबार बेलुका कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा शाहीको निधन भएको हो। उनलाई हृदयाघात भएको थियो।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–स्थित बुडेली निवासी शाही २००६ सालमा जन्मिएका थिए। उनी नेपाली कांग्रेस दैलेखका अग्रणी नेताका रूपमा परिचित थिए। कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई भेटेपछि आफूले कांग्रेसको राजनीति सुरु गरेको शाहीले बताउँदै आएका थिए।

शाहीले २०३६ सालको जनमतसंग्रहमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय प्रजातन्त्रको पक्षमा जनजागरण अभियानमा अग्रणी भूमिका निर्वाह गरेका थिए। बहुदल प्राप्तिका लागि २०३२ देखि २०४६ सालसम्म भूमिगत रहेका उनी विभिन्न समयमा गरी नौ पटक गिरफ्तार परेका थिए। २०४६ सालको जनआन्दोलनका क्रममा उनी ५१ दिन हिरासतमा बसेका थिए।

राजनीतिक यात्राका क्रममा शाही २०४९ सालमा जिल्ला विकास समिति दैलेखको सभापति बनेका थिए। उनले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समेत उम्मेदवारी दिएका थिए। तर दुवै निर्वाचनमा विजयी हुन सकेनन्।

२०७४ सालको निर्वाचनमा समानुपातिकतर्फबाट कर्णाली प्रदेशसभा सदस्य बनेका शाहीले प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। उनी नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलका प्रमुख सचेतकसमेत बनेका थिए।

प्रदेशसभाको पाँच वर्षे कार्यकाल पूरा गरेपछि शाही सक्रिय राजनीतिबाट केही टाढा रही आफ्नै गाउँमा बस्दै आएका थिए।

शाहीको निधनले नेपाली कांग्रेस दैलेखसहित कर्णाली प्रदेशको राजनीतिक क्षेत्रमा क्षति पुगेको भन्दै नेता तथा कार्यकर्ताले दुःख व्यक्त गरेका छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस