
१६ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशको वेबसाइटमा सार्वजनिक गरिएको विवरणअनुसार मुख्यमन्त्री शाहीसँग १० तोला सुन र १० तोला चाँदी रहेको छ ।
सम्पत्ति विवरणमा सुनचाँदीको स्रोतका रूपमा पैत्रिक सम्पत्ति, शिक्षकको तलब, खुद्रा व्यवसाय र पारिश्रमिक उल्लेख गरिएको छ ।
शाहीको बैंक खातामा कुल १ लाख ५५ हजार रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख छ । राष्ट्रिय वाणिज्य बैंक काठमाडौंमा १ लाख ५० हजार रुपैयाँ र एनएमबी बैंक सुर्खेतमा ५ हजार रुपैयाँ रहेको जनाइएको छ ।
मुख्यमन्त्री शाहीले आफूलाई १८ लाख रुपैयाँ ऋण रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सो ऋणमध्ये विभिन्न मितिमा ५ लाख ५० हजार रुपैयाँ तिरिसकेको विवरणमा उल्लेख छ ।
मुख्यमन्त्री शाहीको परिवारसँग मुगुका विभिन्न स्थानमा करिब ९३ रोपनी जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनका अनुसार तीमध्ये अधिकांश जग्गा श्रीमती, छोरी र आमाहरूका नाममा रहेका छन् ।
उक्त जग्गा साविकका जिमा र श्रीनगर गाविसका विभिन्न वडामा रहेको उल्लेख गरिएको छ ।
मुख्यमन्त्री शाहीको आफ्नै नाममा भने साविक जिमा गाविस वडा नम्बर ९ को कित्ता नम्बर ५१ मा ४०२ वर्गमिटर जग्गा रहेको विवरणमा उल्लेख छ ।
सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री शाहीसँग एउटा सुजुकी स्कुटर र ७ वटा गोरु पनि छन् ।
त्यसैगरी उनले १ लाख १० हजार रुपैयाँ मूल्यको एउटा क्यामरा, ९० हजार र ६० हजार रुपैयाँ मूल्यका दुईवटा मोबाइल तथा ९० हजार रुपैयाँ मूल्यको एउटा ल्यापटप रहेको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा शाहीको चल-अचल सम्पत्ति, बैंक मौज्दात तथा ऋणलगायतका विवरण समावेश गरिएको छ ।