२०८३ आश्विन ४, आईतबार

सांसद हाजिरी

कर्णाली प्रदेशसभाको बर्खे अधिवेशन : १४ सांसद मात्रै सबै बैठकमा उपस्थित

कर्णाली प्रदेशसभा सांसद हाजिरी
कर्णाली प्रदेशसभाको बर्खे अधिवेशन : १४ सांसद मात्रै सबै बैठकमा उपस्थित

सुर्खेत । कर्णाली प्रदेशसभाका अधिकांश सांसदले सार्वजनिक रूपमा आफूहरूलाई बेरोजगार नबनाउन आग्रह गर्दै आए पनि प्रदेशसभाको बर्खे अधिवेशनमा उनीहरूको उपस्थिति भने कमजोर देखिएको छ।

प्रदेशसभा सचिवालयले उपलब्ध गराएको हाजिरी विवरणअनुसार ४० सदस्यीय कर्णाली प्रदेशसभाको बर्खे अर्थात् आठौँ अधिवेशनमा जम्मा १४ जना सांसद मात्रै सबै ३१ वटा बैठकमा सहभागी भएका छन्।

बर्खे अधिवेशनमा २८ दिनमा ३१ वटा बैठक बसेका थिए। जेठ २० गते दुई तथा असार १ गते तीनवटा बैठक बसेका थिए।

३१ वटै बैठकमा सहभागी सांसद

सबै ३१ वटा बैठकमा सहभागी हुने सांसदमा जलस्रोत तथा ऊर्जामन्त्री कलबहादुर हमाल, घनश्याम भण्डारी, सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, भौतिकमन्त्री मिलन खड्का रोका, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, तुल्सा मल्ल, दक्षिणा शाही, दुर्गबहादुर रावत, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रन सिंह परियार, विजया बुढा र हिक्मतबहादुर विष्ट छन्।

सभामुख नन्दा गुरुङ पनि अधिकांश बैठकमा सहभागी भएकी छन्।

सबैभन्दा कम २० बैठकमा उपस्थिति

प्रदेशसभा सचिवालयका अनुसार सांसद देवेन्द्रबहादुर शाही सबैभन्दा कम २० वटा बैठकमा सहभागी भएका छन्।

त्यस्तै, कांग्रेसकी जानकी सिंह, राजीवविक्रम शाह र एमालेका विनोदकुमार शाह २३ वटा बैठकमा मात्रै सहभागी भएका छन्। उनीहरू गत भदौ ३ गते मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत लिँदासमेत उपस्थित थिएनन्।

जानकी सिंह वीरेन्द्रनगर निवासी हुन्। राजीवविक्रम शाहले अर्थमन्त्रीबाट राजीनामा दिएपछि पछिल्ला बैठकमा कमै देखिएको उल्लेख छ। एमालेका विनोदकुमार शाहले आफू बिरामी भएको जानकारी दललाई गराएका थिए।

३० बैठकमा १० सांसद सहभागी

३० वटा बैठकमा सहभागी हुने सांसदको संख्या १० रहेको छ। यसमा उद्योग, पर्यटनमन्त्री कल्याणी खड्का, कृषिमन्त्री जुम्कित लामा कार्की, अर्थमन्त्री टेकराज पछाई, कृष्णकुमार विसी, कृष्णबहादुर जिसी, भीमप्रकाश शर्मा, मुख्यमन्त्री मंगलबहादुर शाही, पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, बलिमाया बुढा र शेरबहादुर बुढा रहेका छन्।

पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता यामलाल कँडेल, उर्मिला विश्वकर्मा र वीरबहादुर शाही २९ वटा बैठकमा सहभागी भएका छन्।

त्यस्तै, उपसभामुख यशोदा न्यौपाने, इन्द्राकुमारी शाही, लक्ष्मी सुनार, विन्दमान विष्ट, सुरेश अधिकारी, खड्कबहादुर पोखरेल, गमता विक र राप्रपाकी सांसद सन्तोषी शाही २८ वटा बैठकमा सहभागी भएका छन्।

सांसद वेदराज सिंह भने २६ वटा बैठकमा मात्रै सहभागी भएको प्रदेशसभा सचिवालयको विवरणमा उल्लेख छ।

नियमित सुविधा लिए पनि संसद्मा उपस्थिति कमजोर

प्रदेशसभा सचिवालयका एक अधिकारीले सांसदहरूले नियमित रूपमा तलब, भत्ता, आवासलगायत सुविधा लिए पनि संसद्को काममा अपेक्षाकृत सक्रिय सहभागिता नदेखिएको बताएका छन्।

उनका अनुसार सांसदहरू बैठकमा उपस्थित भएर नीति निर्माणमा योगदान गर्नुका साथै जनताका सरोकारका विषय उठाउनुपर्ने भए पनि कतिपय अवस्थामा बैठकमा उपस्थिति कमजोर देखिएको छ।

कतिपय सांसद बैठकमा उपस्थित भए पनि पूर्ण समय नबस्ने समस्या रहेको अधिकारीको भनाइ छ। हाजिर गरेपछि बैठकमा पूरा समय नबस्ने प्रवृत्ति देखिएको उनको दाबी छ।

सांसदहरूले प्रदेशसभा बैठकमा सहभागी भएबापत प्रतिदिन १ हजार रुपैयाँ भत्ता पाउने व्यवस्था रहेको उल्लेख गरिएको छ।

बजेट पारितबाहेक के भयो उपलब्धि ?

प्रदेशसभा सचिवालयका अनुसार बर्खे अधिवेशनमा बजेट ल्याउने, बजेटमाथि छलफल गर्ने र पारित गर्नेबाहेक महत्वपूर्ण नयाँ कानुन निर्माण हुन सकेनन्।

सरकार फेरबदलपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत लिनु पनि अधिवेशनको प्रमुख काममध्ये एक रह्यो।

पूर्वमुख्यमन्त्री राजकुमार शर्माले ‘कर्णाली समृद्धिका लागि व्यवस्था गर्न बनेको विधेयक’ दर्ता गराए पनि उक्त गैरसरकारी विधेयक टेबुल हुन सकेन।

त्यस्तै, ‘सामयिक राजस्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ भदौ ११ गते दर्ता भए पनि छलफलका लागि टेबुल हुन सकेन।

बर्खे अधिवेशनको पहिलो बैठक वैशाख २८ गते बसेको थियो भने अन्तिम बैठक भदौ १६ गते बसेको थियो। भदौ २२ र ३० गते बैठक तोकिए पनि बस्न सकेन। सरकारले भदौ २९ गते अधिवेशन अन्त्य गरेको थियो।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस