
२२ असोज, काठमाडौं । काठमाडौंको काँडाघारीमा प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न समूहका तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा आयन रायमाझी पनि छन् । प्रहरीको गोली लागेर घाइते भएका उनलाई नियन्त्रणमा लिएर उपचारका लागि पठाइएको जनाइएको छ ।
काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार रायमाझीलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा हवाई फायर गरेको थियो । त्यसपछि उनलाई घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो ।
लुटपाटमा संलग्न अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ परेकाहरूको संलग्नता, लुटपाटको प्रकृति तथा घटनाको विस्तृत विवरणबारे अनुसन्धानपछि थप जानकारी सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।