
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन गर्न नमान्ने इतर समूहका चार जिल्ला सभापतिको जिम्मेवारी खोसेर नयाँ कार्यवाहक सभापति तोकेको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको हो।
दुलालका अनुसार जिम्मेवारी खोसिए पनि सम्बन्धित नेताहरूको जिल्ला सभापति पद भने कायमै रहनेछ। उनका अनुसार अधिवेशनसम्बन्धी काम अघि बढाउन नसकेकाले कार्यसम्पादन सहज बनाउन कार्यवाहक सभापति तोकिएको हो।
निर्णयअनुसार कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी हरिचन्द्र रानालाई दिइएको छ। मुगुका सभापति ऐनबहादुर शाहीको जिम्मेवारी हरिजङ्ग शाही, डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायर र बागलुङका सभापति जित शेरचनको जिम्मेवारी तारानाथ पौडेललाई सुम्पिइएको छ।
जिम्मेवारी खोसिएका कञ्चनपुरका सभापति पदम बोगटीले भने तत्कालका लागि पार्टीको महाधिवेशन प्रक्रिया स्थगित गर्न अपिल गरेका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै बोगटीले अदालतको फैसला नआउन्जेल महाधिवेशनका कार्यक्रम अघि नबढाउन आग्रह गरेका हुन्।
पार्टीको वैधानिकता, नेतृत्व तथा विशेष महाधिवेशनसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकपक्षीय रूपमा संगठनात्मक गतिविधि अघि बढाउनु उचित नहुने उनको जिकिर छ।
उनले अदालतको निर्णयपछि मात्र महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्।