
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते हुने भएको छ ।
यसअघि असोज १६ गते महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको भए पनि अविरल वर्षाका कारण अधिवेशन प्रक्रिया प्रभावित भएपछि उद्घाटन मिति दुई दिन पछाडि सारिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशन उद्घाटन समारोह असोज १८ गते हुने जानकारी दिएका छन् ।
कांग्रेसका अनुसार वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् । प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया भने जारी छ ।
भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएको कांग्रेसले जनाएको छ । सोही अवस्थालाई मध्यनजर गर्दै महाधिवेशन उद्घाटनको मिति दुई दिन पछाडि सारिएको हो ।
अब कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ ।