
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ।
गत पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा छलफल सुरु भएको हो।
महाधिवेशनको बन्दसत्रलाई तीनवटा क्लस्टरमा विभाजन गरेर सञ्चालन गरिएको छ। प्रतिनिधिहरूलाई पहाड, हिमाल र तराई–मधेस गरी तीन समूहमा विभाजन गरिएको हो।
सुरुवातमा पहाड क्लस्टरको बन्दसत्र सञ्चालन गरिएको छ। बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेस हल निर्धारण गरिएको छ।
प्रदेश तथा विभिन्न समूहबाट आएका प्रतिनिधिहरूलाई सम्बन्धित क्लस्टरअनुसार तोकिएका हलमा विभाजन गरिएको छ।
बन्दसत्रमा केन्द्रीय कार्यसमितिले पारित गरेका विभिन्न एजेन्डामाथि प्रतिनिधिहरूबीच छलफल हुने बताइएको छ। प्रतिनिधिहरूले पार्टीको आगामी नीति, संगठन तथा राजनीतिक दिशाबारे धारणा राख्नेछन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टीको आगामी कार्यदिशा तय गर्नेदेखि संगठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।