
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
कांग्रेसका ७ हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।
निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा मनोनयन दर्ताको प्रक्रिया अघि बढाएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार बिहान १० बजेपछि उम्मेदवारका लागि मनोनयन दर्ता फारम वितरण सुरु गरिएको हो ।
महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ । उम्मेदवारी दिन चाहने प्रतिनिधिले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई निर्धारित शुल्क बुझाएपछि मनोनयन फारम प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन समितिका अनुसार आज दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।
१५औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय कार्यसमितिको आकार उल्लेख्य रूपमा बढाइएको छ ।
यसअघि १४औँ महाधिवेशनमा १६७ सदस्यीय रहेको केन्द्रीय कार्यसमितिलाई बढाएर २९७ सदस्यीय बनाइएको छ ।
कांग्रेसले सोमबार संशोधित विधान पारित गर्दै पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याएको छ ।
नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापतिको व्यवस्था गरिएको छ । यससँगै उपसभापतिको संख्या चार पुगेको छ ।
त्यस्तै महामन्त्रीको संख्या तीन पुर्याइएको छ । तीनमध्ये एक जना महिला महामन्त्री अनिवार्य हुने व्यवस्था गरिएको छ ।
कांग्रेसले दुई खुला सहमहामन्त्रीको पद थप गरेको छ । यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ ।
यसैगरी पार्टीमा प्रवक्ताको पद पनि थप गरिएको छ । आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ ।
प्रतिनिधिको संख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमिति तथा पदाधिकारीको संख्या पनि बढाइएको कांग्रेसको भनाइ छ ।
१५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै कांग्रेसभित्र नेतृत्वका आकांक्षीहरूको अन्तिम तयारीसमेत तीव्र बनेको छ ।