
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा पाँच पुस्तालाई सँगै लिएर अघि बढ्ने संकल्पसहित युथ काउन्सिल र विसडम काउन्सिल गठन गर्ने प्रस्ताव अघि सारेका छन्।
काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नयाँ पुस्ताको अनुभव तथा आकाङ्क्षा सुन्न र पुरानो पुस्ताको अनुभव तथा ज्ञानलाई पार्टीको नीतिनिर्माणमा जोड्न दुई छुट्टाछुट्टै काउन्सिल गठन गर्ने प्रस्ताव गरिएको हो।
सभापति थापाले १८ वर्षभन्दा माथि र २१ वर्षभन्दा कम उमेरका युवाहरू सहभागी हुने गरी युथ काउन्सिल गठन गर्ने प्रस्ताव गरेका छन्।
नयाँ पुस्ताका विचार, अनुभव, आकाङ्क्षा र चुनौतीलाई पार्टीको नेतृत्वसम्म प्रत्यक्ष रूपमा पुर्याउने उद्देश्यले युथ काउन्सिल गठन गर्न लागिएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, पुरानो पुस्ताको अनुभव र ज्ञानलाई पार्टीको नीति तथा निर्णय प्रक्रियामा उपयोग गर्ने उद्देश्यले विसडम काउन्सिल गठन गर्ने प्रस्ताव गरिएको छ।
प्रस्तावित दुवै काउन्सिलले पार्टी सभापतिसँग प्रत्यक्ष संवाद तथा परामर्श गर्नेछन्।
राजनीतिक प्रतिवेदनअनुसार दुवै काउन्सिलबाट प्राप्त सुझावलाई पार्टीको विधानसम्मत निर्णय प्रक्रियासँग जोडिनेछ।
यसबाट पुस्ताबीच संवाद बढाउनुका साथै अनुभवको हस्तान्तरण र नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्ने कांग्रेसको लक्ष्य रहेको छ।
सभापति थापाले पार्टीभित्र अर्थपूर्ण समावेशिता बढाउन हरेक तहका पदाधिकारीमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने प्रस्तावसमेत अघि सारेका छन्।
राजनीतिक प्रतिवेदनमा ‘हरेक तहमा कम्तीमा एक तिहाइ पदाधिकारी महिला रहने दिशामा संरचनागत सुधार अघि बढाइनेछन्’ उल्लेख गरिएको छ।
यसका साथै युवा, श्रमिक, मधेसी, दलित, आदिवासी जनजाति, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति तथा लैंगिक र यौनिक अल्पसंख्यकको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ।
पछाडि पारिएका तथा कम प्रतिनिधित्व भएका समुदायको सहभागितालाई पार्टीभित्र केवल उपस्थितिमा सीमित नराखी नीति निर्माण प्रक्रियामै उनीहरूको अनुभव र आवाज समेट्ने व्यवस्था गरिने प्रतिवेदनमा उल्लेख छ।
कांग्रेस सभापति थापाले पार्टीलाई पुस्ताबीचको समन्वय, समावेशी सहभागिता र अनुभव हस्तान्तरणलाई संस्थागत गर्दै अघि बढाउने प्रस्ताव अघि सारेका हुन्।