
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशन केवल पद र नेतृत्व व्यवस्थापन गर्ने माध्यम मात्र नभई आत्मसुधार, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको थलो बन्नुपर्ने बताएकी छन् ।
काठमाडौंको खुलामञ्चमा आइतबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भुसालले जनतामाझ गुम्दै गएको विश्वास फर्काउन र नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न कांग्रेसले निर्मम आत्मसमीक्षा गर्नुपर्ने बताइन् ।
उनले कांग्रेस लामो समयदेखि लोकतन्त्रका लागि संघर्ष गर्दै आएको ऐतिहासिक शक्ति भएकाले वर्तमान र भविष्यको स्पष्ट मार्गचित्र कोर्ने दायित्व यही महाधिवेशनको काँधमा रहेको बताइन् ।
‘यो महाधिवेशन एउटा सामान्य भेला होइन । नेपाली कांग्रेसको वर्तमान र भविष्यबारे चिन्तन, संवाद र आत्मसमीक्षा गर्ने महत्वपूर्ण थलो हो । यो महाधिवेशन केवल पद प्राप्ति वा पद व्यवस्थापनका लागि मात्र भइरहेको छैन,’ भुसालले भनिन् ।
भुसालले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई अझ बढी समावेशी र संस्थागत बनाउनुपर्नेमा जोड दिइन् ।
केन्द्रीय तहबाट हुने हरेक निर्णयलाई पारदर्शी बनाएर पार्टीको तल्लो तहसम्म पुर्याउनुपर्ने भन्दै उनले महाधिवेशन प्रतिनिधिहरूलाई त्यसका लागि भूमिका खेल्न आह्वान गरिन् ।
मुलुकको जनसंख्यामा ठूलो हिस्सा ओगट्ने नयाँ ‘जेनेरेसन–जी’ पुस्ताले सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त समाज खोजिरहेको उल्लेख गर्दै उनले उनीहरूको सपना र भरोसालाई सम्बोधन गर्नेगरी कांग्रेस अघि बढ्नुपर्ने बताइन् ।
भुसालले महाधिवेशनलाई नेता तथा कार्यकर्ताको मात्र नभई लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने सम्पूर्ण नेपालीले आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताइन् ।
‘यो महाधिवेशनलाई आत्मसुधार, आत्मनिर्णय, पुनर्जागरण र पुनर्निर्माणको ऐतिहासिक अवसरका रूपमा लिन आवश्यक छ । हामीले यो अवसर गुमाउनु हुँदैन,’ उनले भनिन् ।
महाधिवेशन सम्पन्न गरेर फर्किएपछि जनताको विश्वास अझ बढाउन गाउँ–गाउँमा जाने ऊर्जा र प्रतिबद्धता कांग्रेससँग छ कि छैन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बेला आएको पनि उनले बताइन् ।
मुलुकको जनसंख्यामा महिलाको ठूलो हिस्सा रहेको स्मरण गराउँदै भुसालले आन्दोलन, निर्वाचन र समाज सञ्चालनमा महिलाले आफ्नो सामर्थ्य प्रमाणित गरिसकेको बताइन् ।
अब पार्टी तथा राज्यको नीति निर्माण तहमा महिलाहरूको निर्णायक उपस्थिति सुनिश्चित गर्नुपर्ने उनको माग थियो ।
भुसालले कांग्रेसले इतिहासको गौरवमा मात्र सीमित नभई बदलिँदो राजनीतिक, सामाजिक र पुस्तागत अपेक्षालाई आत्मसात् गर्दै नयाँ राजनीतिक संस्कार र कार्यदिशासहित अघि बढ्नुपर्ने बताइन् ।