
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा शुक्रबार दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ७ बजे सुरु हुने भनिएको मतदान करिब एक घण्टा ढिला गरी सुरु भएको थियो । मतदानमा महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयनका लागि मताधिकार प्रयोग गरिरहेका छन् ।
मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीका अनुसार कोशी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ६०६, लुम्बिनी प्रदेशबाट ३८९, गण्डकी प्रदेशबाट ३३०, बागमती प्रदेशबाट ४८७ र मधेस प्रदेशबाट ४२२ मत खसेको छ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने व्यवस्था दुई स्थानमा मिलाइएको छ । खुलामञ्चमा ६ प्रदेश तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन् ।
त्यस्तै, प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिहरूका लागि मतदानको व्यवस्था मिलाइएको छ ।
मतदान सम्पन्न भएपछि कांग्रेसको नयाँ नेतृत्व चयन हुनेछ ।