
९ असोज, काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथमा पहिरो खसेपछि सवारी आवागमन बन्द भएको हो ।
वर्षा नरोकिएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले ती सडकमा सवारी सञ्चालनमा रोक लगाएका छन् । विभिन्न स्थानमा पहिरो खसेका कारण बिहानैदेखि सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।
काठमाडौंको लाइफलाइन मानिने त्रिभुवन राजपथ भने अत्यावश्यक सामग्री ढुवानीका लागि एकतर्फी सञ्चालनमा राखिएको छ । हेटौँडा–नौबिसे–काठमाडौं सडकखण्डमा मकवानपुरतर्फबाट काठमाडौं आउने सवारीलाई मात्र सञ्चालन अनुमति दिइएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीका अनुसार काठमाडौंमा अत्यावश्यक सामग्री भित्र्याउन सहज होस् भनेर त्रिभुवन राजपथ एकतर्फी खुला राखिएको हो ।
‘काठमाडौं हुँदै जाने गाडीलाई त्रिभुवन राजपथ प्रयोग गर्न दिइएको छैन, मकवानपुरतिरबाट आउनमात्र दिइएको छ,’ उनले भने ।
साना सवारीसाधनले भने हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ तथा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गरेर काठमाडौं आउजाउ गर्न सक्नेछन् । तर, यी सडकमा ठूला मालवाहक सवारी सञ्चालन गर्न नसकिने प्रहरीले जनाएको छ । साथै, प्रशासनले यी सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार साना सवारीका लागि टोखा–छहरे र साँखु हुँदै काठमाडौं आउजाउ गर्ने सडकसमेत खुला छन् ।
तर, काठमाडौंका लागि अत्यावश्यक खाद्यान्न तथा इन्धन ढुवानी गर्न त्रिभुवन राजपथलाई प्राथमिकताका साथ एकतर्फी सञ्चालनमा राखिएको प्रहरीले जनाएको छ ।