
९ असोज, काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं भित्रिने तथा बाहिरिने मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको छ । विभिन्न स्थानमा पहिरो र सडक अवरोध भएपछि चेकपोस्टहरूमा सवारीसाधन होल्ड गरिएको छ ।
राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख नाकामा सुरक्षाकर्मीले सडकको अवस्था हेरेर सवारीसाधनलाई रोक्ने तथा आवश्यकताअनुसार गन्तव्यतर्फ पठाउने व्यवस्था गरेका छन् ।
लगातार वर्षा भइरहेकाले सडक तथा राजमार्गको अवस्था जोखिमपूर्ण बनेको भन्दै यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ । सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
वर्षाका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्गलगायतका सडकखण्डमा पहिरो तथा अवरोध देखिएको अवस्थामा चेकपोस्टमा सवारीसाधन रोकिएका हुन् ।