२०८३ आश्विन २०, मंगलबार

बेनी–जोमसोम सडक

कोरला नाका जोड्ने बेनी–जोमसोम सडक अझै एक साता नखुल्ने

कोरला नाका जोड्ने बेनी–जोमसोम सडकखण्ड अझै करिब एक साता पूर्णरूपमा सञ्चालनमा नआउने भएको छ। विभिन्न स्थानमा सडक भासिएपछि पुनःस्थापनाको काम जारी छ।
कोरला नाका जोड्ने बेनी–जोमसोम सडक अझै एक साता नखुल्ने

१९ असोज, काठमाडौं । नेपाल र चीनबीच खुला रहेको कोरला नाका जोड्ने बेनी–जोमसोम सडकखण्ड अझै करिब एक साता सञ्चालनमा नआउने भएको छ।

सडक विभागका अनुसार मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत घासा–कोरला खण्डमा भने दुईतर्फी यातायात सञ्चालनमा आएको छ।

तातोपानी क्षेत्रमा सडक कटानको ब्याक कटिङ तथा टेवा पर्खाल निर्माण गरी यातायात सञ्चालन गरिएको विभागले जनाएको छ। पोखरेबगर पुलको एप्रोच निर्माणको काम भने जारी रहेको छ।

विभागका अनुसार रातोपानीका दुई स्थान र भीरकाटे नजिक सडक पूर्णरूपमा भत्किएको छ। ती स्थानमा पैदल यात्रासमेत गर्न नसकिने अवस्था रहेको जनाइएको छ।

त्यस्तै, बेगखोला नजिक करिब १०० मिटर सडक पूर्णरूपमा भासिएको छ। बैसेरी भन्ने स्थानमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको विभागले जनाएको छ।

राहुघाटदेखि सिरुबारीसम्म भने एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

पोखरेबगर नजिकैको रातोपानी खण्डमा समेत ट्र्याक खोलिएको विभागले जनाएको छ। कुनेटो भन्ने स्थानमा क्याकफिलिङको काम भइरहेको छ।

विभागका अनुसार आजदेखि मुख्य कटान तथा पहिरोग्रस्त क्षेत्रमा सडक पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढाइनेछ।

सडक विभागले समग्रमा बेनी–जोमसोम सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आउन अझै करिब ६ दिन लाग्ने जनाएको छ।

कोरला नाका सञ्चालनमा रहे पनि सडक अवरुद्ध हुँदा मुस्ताङ आवतजावत तथा मालसामान ढुवानीमा समेत असर परेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस