२०८३ आश्विन १०, शनिबार

खराब मौसमका कारण लुक्लासहित ५ विमानस्थलमा उडान प्रभावित

खराब मौसमका कारण उडान प्रभावित
Post Thumbnail

९ असोज, काठमाडौं । खराब मौसमका कारण दृश्यता (भिजिबिलिटी) घट्दा शुक्रबार लुक्लासहित देशभरका पाँच विमानस्थलमा उडान प्रभावित भएका छन् ।

काठमाडौं विमानस्थलका अनुसार भरतपुर, पोखरा, लुक्ला, सिमरा र सुर्खेत विमानस्थलमा बिहानैदेखि उडान सञ्चालन हुन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) अन्तर्गत उडान सञ्चालन भइरहेका छन् । तर, कम दृश्यताका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) अन्तर्गत हुने उडान प्रभावित भएका छन् ।

विमानस्थलका अनुसार बिहान ६ बजे काठमाडौंको दृश्यता करिब तीन किलोमिटर थियो । बिहान १० बजेसम्म पनि दृश्यता करिब तीन किलोमिटरकै हाराहारीमा रहेको थियो ।

कम दृश्यताका कारण विशेषगरी लुक्लातर्फका उडान प्रभावित भएका छन् । उडानको प्रतीक्षामा रहेका पर्यटक तथा यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका छन् ।

सीता एअरले शुक्रबारका सबै उडान रद्द गरेको छ । तारा एअर र समिट एअरका लुक्लातर्फका उडान भने मौसममा सुधारको प्रतीक्षामा छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नागरिक उड्डयन कार्यालयका अनुसार शुक्रबार आन्तरिकतर्फ १३४ वटा प्रस्थान उडान निर्धारित छन् । जसमा बुद्ध एयरका ५८, यती एअरलाइन्सका २७, श्री एअरलाइन्सका २३, समिट एअरका १०, तारा एअरका १०, सीता एअरका ४ र नेपाल एअरलाइन्सका २ वटा प्रस्थान उडान छन् ।

तर, मौसम प्रतिकूल रहेकाले निर्धारित उडानमध्ये केही रद्द, ढिलाइ वा समय परिवर्तन हुन सक्ने विमानस्थलले जनाएको छ । यात्रुहरूलाई उडानअघि सम्बन्धित वायुसेवा कम्पनी वा विमानस्थलबाट आफ्नो उडानको पछिल्लो अवस्था बुझ्न आग्रह गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस