१५ असोज, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ छहरामा झरेको पहिरो हटाएर सवारीसाधन सञ्चालनमा ल्याइएको छ । तर, घण्टौँदेखि हजारौँ सवारीसाधन सडकमा रोकिँदा राजमार्गमा अहिले पनि अत्यधिक सवारी चाप रहेको छ ।
पहिरो हटाएर सडक सञ्चालनमा आए पनि लामो समयदेखि सवारीसाधन रोकिएका कारण गजुरी क्षेत्रमा यातायात व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
धादिङ ट्राफिक प्रहरीको सीमित जनशक्तिबाट मात्रै ठूलो संख्यामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न कठिन भइरहेको जनाइएको छ ।
सवारी चापलाई व्यवस्थित बनाउन स्थानीय युवा क्लब तथा युवाहरूलाई ट्राफिक व्यवस्थापनमा स्वयंसेवकका रूपमा सहयोग गरिदिन अनुरोध गरिएको छ ।
लामो समयदेखि रोकिएका सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाउने तथा राजमार्गमा थप जाम हुन नदिन ट्राफिक व्यवस्थापनमा स्थानीय युवाको सहयोग आवश्यक रहेको जनाइएको छ ।
प्रहरीले राजमार्गको अवस्था सामान्य बनाउन निरन्तर प्रयास भइरहेको जनाएको छ । सवारी चालक तथा यात्रुलाई धैर्य राख्न र ट्राफिक प्रहरी तथा स्वयंसेवकले दिएको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।