
२० असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना चुहाउने जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने व्यक्तिले कुनै पनि अवस्थामा उन्मुक्ति नपाउने बताएका हुन् ।
उनले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिमाथि आफूले लामो समयदेखि निगरानी गरिरहेको बताए ।
‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु,’ उनले भनेका छन् ।
गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट पारेका छन् ।
‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो । पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन,’ उनले उल्लेख गरेका छन् ।
उनका अनुसार गृह मन्त्रालय तथा मातहतका निकायबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुनसक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्न सक्छ ।
संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सोमबार सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो । दाहालमाथि पदीय आचरणविपरीत कार्य गरेको तथा संवेदनशील सूचना चुहावट गरेको आरोप गृह मन्त्रालयले लगाएको छ ।
गृहमन्त्री गुरुङले राज्यको गोपनीयता र संवेदनशील सूचनाको संरक्षणमा जिम्मेवार सबै पदाधिकारी तथा कर्मचारीलाई सचेत रहन आग्रह गर्दै सूचना दुरुपयोग गर्ने जोसुकै भए पनि कानुनको कठघरामा ल्याउने बताएका छन्