
२० असोज, काठमाडौं । नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिँदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ ।
महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै ग्यास उद्योगहरूले गर्दै आएको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र ग्यास बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर रहनु नै ग्यास अभावको मुख्य कारण भएको बताए ।
यो विषयलाई बेवास्ता गर्दै विभिन्न ग्यास उद्योगहरूले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ ।
उद्योगहरूले नयाँ सिलिन्डर बिक्री गरिरहँदा पनि नेपाल आयल निगम र सरकार मूकदर्शक बनेको भन्दै महासंघले उद्योगी, निगम र सरकारको कार्यशैलीप्रति संशय व्यक्त गरेको छ ।
महासंघले बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी रकम फिर्ता गर्नुको सट्टा आगामी वर्षमा उपभोक्तालाई थप आर्थिक भार पर्ने गरी ५ किलो, १९ किलो, ५० किलो र ४५० किलोका नयाँ सिलिन्डर बिक्री गर्ने योजना ल्याइएको दाबी गरेको छ ।
यस्तो योजना आफूहरूलाई स्वीकार्य नहुने महासंघले चेतावनी दिएको छ ।
ग्यास वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन महासंघले उद्योगबाट निरन्तर भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र ग्यास बिक्री गर्ने व्यवस्था मिलाउन निगमसमक्ष माग गरेको छ ।
त्यस्तै, ग्यास अभावको वास्तविक कारण पहिचान गरी सरोकारवालासँगको परामर्शमा सहज आपूर्ति व्यवस्था मिलाउन र हाल सर्वसाधारणले प्रयोग गर्दै आएको १४.२ किलोको ग्यास सिलिन्डरको उचित व्यवस्थापन गर्न पनि महासंघले माग गरेको छ ।