
१९ असोज, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देवेन्द्र थापा रहेका छन् ।
सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा थापा र स्याङ्जाको वालिङ नगरपालिका–८ निवासी सागर थापा घाइते भएका थिए ।
दुर्घटनामा घाइते दुवै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएको थियो । उपचारका क्रममा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए ।
घाइते सागरको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।