
असार १७,काठमाडौं। नेकपा एमाले बागमती प्रदेश कमिटीअन्तर्गत जनसंगठन समन्वय संयन्त्रको विस्तारित बैठक च्यासलमा सम्पन्न भएको छ।
जनसंगठन समन्वय संयन्त्रका संयोजक रमेश आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमालेका सचिव महेश बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा जनसंगठन संयन्त्रका संयोजक विशाल भट्टराई, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, उपाध्यक्ष दावा दोर्जे लामा, उपसचिव भक्तकुमारी लगायत नेताहरूको उपस्थिति रहेको थियो।

बैठकमा नेकपा एमालेसँग आबद्ध २३ वटा जनसंगठनका अध्यक्ष, इन्चार्ज तथा पदाधिकारीहरूको सहभागिता रहेको जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै सचिव महेश बस्नेतले वैशाख १५ गते जस्तै प्रतिकारमा उत्रिएको भए २३ र २४ गते भएका घटनाहरू हुन नपाउने दाबी गरे। उनले दुर्गा प्रसाई नेतृत्वमा भएको आन्दोलन जनसंगठनहरूको प्रतिकारका कारण असफल भएको उल्लेख गर्दै ती घटनाको वास्तविकता जनतामाझ प्रभावकारी रूपमा पुर्याउन नसक्नु पार्टीको कमजोरी भएको बताए।

सामाजिक सञ्जालमा फैलाइने गलत सूचना र भ्रमको समयमै तथ्यसहित प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै बस्नेतले वर्तमान समय डिजिटल प्लेटफर्मको युग भएकाले त्यसको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए।
बैठकमा जनसंगठनलाई अझ प्रभावकारी, सक्रिय र जनमुखी बनाउने विषयमा समेत छलफल भएको सहभागीहरूले बताएका छन्।