
२१ असोज, विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा १२ जनाको ज्यान जानेगरी जन्डिसको प्रकोप फैलिएको १२ वर्षपछि बजार क्षेत्रको खानेपानी वितरण प्रणाली परिवर्तन गरिएको छ ।
२०७१ साल वैशाखमा विराटनगरको बजार क्षेत्रमा जन्डिसको प्रकोप फैलिएको थियो । त्यसको करिब १२ वर्षपछि बजार क्षेत्रमा बिछ्याइएको पुरानो खानेपानी पाइपलाइन परिवर्तन गरिएको हो ।
२०७१ साल वैशाखदेखि करिब तीन महिनाको अवधिमा विराटनगरमा २ हजार ५ सयभन्दा बढीमा जन्डिस देखिएको थियो । तीमध्ये १२ जनाको मृत्यु भएको थियो ।
अनुसन्धानका क्रममा दूषित खानेपानीका कारण जन्डिस फैलिएको पुष्टि भएको थियो । त्यसपछि तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीले खानेपानीको पाइपलाइन परिवर्तन गर्ने बताएका थिए । तर, आवश्यक बजेट विनियोजन नहुँदा लामो समयसम्म पाइपलाइन परिवर्तन हुन सकेको थिएन ।
अन्ततः १२ वर्षपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अनुदान सहयोगमा विराटनगरको मुख्य बजार क्षेत्रको खानेपानी पाइपलाइन परिवर्तन गरिएको हो ।
नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार जाइकाको सहयोगमा विराटनगरको खानेपानी आपूर्ति प्रणाली सुधारसँगै पानी वितरण क्षमता समेत बढाइएको छ ।
संस्थानले विराटनगरको बजार क्षेत्रमा करिब २ सय किलोमिटर पाइपलाइन बिछ्याएको छ । त्यसमध्ये जाइकाको सहयोगमा मुख्य खण्डको ६६.५ किलोमिटर पाइपलाइन परिवर्तन गरिएको रौनियारले बताए ।
पानी वितरणका लागि १२ वटा डिपवेल, चार सेट पानी शुद्धीकरण प्रणाली र एउटा ओभरहेड ट्यांकी निर्माण गरिएको छ ।
जाइकाको करिब २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा सुरु भएको बृहत्तर खानेपानी परियोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । परियोजना सम्पन्न भएपछि विराटनगरमा दसैंअघि नै नयाँ प्रणालीमार्फत पानी वितरण गर्ने तयारी गरिएको छ ।
खानेपानीको वितरणसँगै उत्पादन क्षमता समेत बढेकाले दैनिक १ करोड लिटरभन्दा बढी पानी सहज रूपमा वितरण गर्न सकिने रौनियारले बताए ।
उनका अनुसार यसअघि दैनिक ८० देखि ८५ लाख लिटरसम्म पानी वितरण हुँदै आएको थियो । नयाँ प्रणाली सञ्चालनमा आएपछि उत्पादन तथा वितरण क्षमता दैनिक १ करोड लिटरभन्दा माथि पुग्नेछ ।
‘पहिला हाम्रो पानीमा क्लोरिन मात्र प्रयोग गरिन्थ्यो, अहिले हामीसँग ग्राभिटी स्यान्ड फिल्टर छ । त्यसबाट फिल्टरेसन गर्छौँ, क्लोरिनेसन गर्छौँ अनि मात्र सप्लाई गर्छौँ,’ रौनियारले भने । नयाँ प्रणालीबाट वितरण हुने पानीको गुणस्तर पहिलेको तुलनामा धेरै राम्रो र सुरक्षित हुने उनको भनाइ छ ।
परियोजनाको निर्माण अवधि सन् २०२६ अक्टोबरसम्म तोकिएको भए पनि अधिकांश काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएको उनले बताए । हाल विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी रहेको र ती काम पूरा गरेर दसैंअघि नै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।
विराटनगरमा पानी वितरणका लागि देवकोटा चोक, तीनपैनी र मुनालपथमा ओभरहेड ट्यांकी निर्माण गरिएका छन् । विराटनगरको कोचाखाल पश्चिममा निर्माण गरिएको नयाँ संरचनामार्फत थप खानेपानी लाइन विस्तार गर्ने तयारी पनि गरिएको छ ।
नेपाल खानेपानी संस्थानले विराटनगरमा १३ हजार २ सय घरमा खानेपानीका धारा जडान गरिसकेको छ ।
परियोजना सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन तथा बढ्दो जनसंख्याको माग धान्न सहज हुने संस्थानले जनाएको छ ।
खानेपानी परियोजना सञ्चालनका क्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समेत नियमित चासो राख्दै सहजीकरण गरेको बताइएको छ ।
महानगर प्रमुख कोइरालाका अनुसार विभिन्न वडामा सडक खन्नुपर्ने विषयमा समस्या भए पनि सम्बन्धित पक्षलाई सहमत गराएर परियोजनाका लागि आवश्यक वातावरण निर्माण गरिएको थियो ।
‘वडामा समस्या थियो । तर उहाँहरूलाई कन्भिन्स गराएर सडक खन्ने वातावरण मिलायौँ,’ उनले भने ।
जाइकाको सहयोगमा खानेपानी परियोजना सञ्चालनका क्रममा एशियाली विकास बैंकको सहयोगमा करिब चार वर्षअघि निर्माण गरिएका केही सडकसमेत पुनः खनिएको थियो । पाइप बिछ्याएपछि खनिएको सडकखण्ड पुनः कालोपत्रे गरिएको छ ।
खानेपानीको पाइप बिछ्याउन सडकको छेउमा खनेर पुनः कालोपत्रे गरिएका स्थानहरू अहिले पनि सडकमा स्पष्ट देखिने गरेका छन् ।