
टोकियो । जापानमा शक्तिशाली आँधी ‘डुजुआन’का कारण आएको मुसलधारे वर्षा, बाढी र पहिरोमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन्।
आँधीका कारण टोकियोसहित पूर्वी जापानका विभिन्न क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरी आएको थियो। कानागावा र चिबा क्षेत्रमा पहिरो तथा बाढीका कारण घर तथा सडकमा क्षति पुगेको छ। उद्धार तथा खोजी कार्य जारी रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।
आँधीका कारण ४५ हजारभन्दा बढी घरधुरी विद्युत् सेवाबाट प्रभावित भएका छन्। बाढी र पहिरोका कारण रेल सेवा तथा हवाई उडानसमेत प्रभावित भएका थिए।
डुजुआनका कारण जापानका केही क्षेत्रमा रेकर्ड वर्षा भएको छ। टोकियोको इडोगावा क्षेत्रमा २४ घण्टामा रेकर्ड वर्षा भएको तथा ओशिमा क्षेत्रमा ४८ घण्टामा ८३२ मिलिमिटर वर्षा मापन गरिएको जनाइएको छ।
आँधी जापानको तटबाट टाढिँदै प्रशान्त महासागरतर्फ सरे पनि भारी वर्षापछि जमिन कमजोर भएकाले पहिरो र बाढीको जोखिम कायमै रहेको भन्दै अधिकारीहरूले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।