
५ असोज, काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलमोड सडकखण्डमा समयअघि नै टिपरको दोहोरो लाइन लाग्दा यात्रु तथा सवारी चालकले भोग्दै आएको समस्या ट्राफिक प्रहरीको सक्रियतापछि हटेको छ ।

शनिबार राति करिब ८ बजे उक्त सडकखण्डमा ट्राफिक प्रहरीकै सहयोगमा टिपरलाई दोहोरो लाइनमा राखिएको दृश्य सार्वजनिक भएपछि यात्रु तथा स्थानीयले गुनासो गरेका थिए । दोहोरो लाइनका कारण काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने यात्रुलाई आवतजावतमा कठिनाइ भएको थियो ।

समस्या देखिएपछि आइतबार राति ट्राफिक प्रहरीले सक्रियता देखाउँदै सडकमा समयअघि नै पुगेका टिपरलाई फर्काएको छ । टिपर हटाइएपछि नागढुङ्गा–पिपलमोड सडकखण्डमा सवारी आवतजावत सहज भएको छ ।
नियमअनुसार राति ९ बजेपछि मात्रै टिपरलाई काठमाडौं प्रवेश गर्न दिने व्यवस्था भए पनि त्यसअघि नै टिपरहरू नाकामा पुग्ने गरेका छन् । ती टिपरहरू सडकमा दोहोरो लाइनमा राखिँदा व्यस्त राजमार्गमा सवारी आवागमन प्रभावित हुँदै आएको थियो ।
विशेषगरी साँझको समयमा त्रिभुवन राजपथ हुँदै काठमाडौं प्रवेश गर्ने र काठमाडौं बाहिरिने यात्रुले टिपरको दोहोरो लाइनका कारण कष्टकर यात्रा गर्न बाध्य हुँदै आएका थिए ।

ट्राफिक प्रहरीले समयअघि नाकामा पुग्ने टिपरलाई सडकमा लामबद्ध नराखी व्यवस्थापन गर्न थालेपछि अहिले भने सवारी आवागमनमा सहजता आएको छ ।
यात्रु तथा स्थानीयले पनि नियमअनुसार टिपर सञ्चालन तथा पार्किङको व्यवस्थापन गरी व्यस्त सडकमा हुने जाम र दुर्घटनाको जोखिम कम गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।