
१८ असोज, काठमाडौं । कलंकी–थानकोट सडकखण्डअन्तर्गत ढुङ्गाअड्डा ओरालोमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
शनिबार राति करिब ९ः३० बजे कलंकीतर्फ जाँदै गरेको बा प्र ०३–०१ क १११३ नम्बरको ट्रिपरले बा ०२–००२ प ०२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको ज्वालामुखी गाउँपालिकाका २४ वर्षीय सुमन पुलामी गम्भीर घाइते भएका थिए। उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार अर्का एक युवक पनि दुर्घटनामा घाइते भएका छन्। उनको महांकालस्थानस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच दुर्घटनामा संलग्न ट्रिपर सञ्चालक सम्पर्कमा नआएको भन्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। ट्रिपर सञ्चालक पहिले पीडित परिवारको सम्पर्कमा आउनुपर्ने माग गर्दै आफन्तले शव पोस्टमार्टमका लागि लैजानसमेत स्वीकृति नदिएका हुन्।
आफन्तको असहमतिका कारण पुलामीको शव हाल कलंकीस्थित सहिद मेमोरियल अस्पतालमै राखिएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।