काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी भएको छ। बिहीबार दिउँसो करिब साढे १ बजेदेखि पुरानो बजार क्षेत्रमा आगलागी सुरु भएको हो।
ताप्लेजुङका डीएसपी कमल बजगाईंका अनुसार आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। बाक्लो घरहरू रहेको बजार क्षेत्रमा आगो फैलिइरहेको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थलमा दुईवटा दमकलसमेत पुगेका छन्।
आगो नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी परिचालन गरिएको डीएसपी बजगाईंले जानकारी दिए।
आगलागीको कारण र क्षतिको विवरण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।