२०८३ आश्विन १३, मंगलबार

मोरङ प्रहरी

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि भागाभाग, पक्राउ परेका एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा भागाभाग
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि भागाभाग, पक्राउ परेका एक जनाको मृत्यु

१३ असोज, विराटनगर । तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भएको भागाभागका क्रममा पक्राउ परेका एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

सोमबार राति करिब साढे ११ बजे विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीको गस्ती टोली पुगेपछि भागाभाग भएको थियो ।

सोही क्रममा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको मंगलबार बिहान मृत्यु भएको हो । त्यस्तै, भाग्ने क्रममा दुई तलाबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको दाहिने खुट्टा भाँचिएको छ । उनको श्री अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीले उक्त स्थानबाट ८ जनालाई पक्राउ गरेको थियो । प्रहरी पुग्दा भागाभाग हुँदा कोइराला सामान्य घाइते भएका थिए ।

पक्राउपछि स्वास्थ्य जाँच गर्दा अवस्था सामान्य देखिएपछि कोइरालासहित सात जनालाई सोमबार राति हिरासतमा ल्याइएको मिश्रले जानकारी दिए । घाइते मुखियाको भने अस्पतालमा उपचार भइरहेको छ ।

हिरासतमा रहेका कोइराला मंगलबार बिहान करिब साढे ७ बजे अचेत अवस्थामा भेटिएका थिए । पक्राउ परेका अन्य व्यक्तिले उठाउन खोज्दा नउठेपछि प्रहरीले उनलाई उपचारका लागि कोशी अस्पताल पठाएको थियो ।

कोशी अस्पतालमा उपचार हुन नसकेपछि उनलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । नोबेल शिक्षण अस्पतालका चिकित्सकले मंगलबार करिब ११ बजे उनलाई मृत घोषणा गरेका हुन् ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मिश्रका अनुसार कोइरालाको शव नोबेल अस्पतालमै रहेको छ । प्रहरीका अनुसार कोइरालाको यसअघि टाउकाको शल्यक्रिया भएको थियो । उनको मृत्युको कारण भने तत्काल खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाका क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाले दुई तलामाथिबाट हामफालेका थिए । एम्बुलेन्स चालकसमेत रहेका मुखियाको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पासवानको घरबाट मृतक कोइराला र घाइते मुखियासहित मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामतलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूको साथबाट ४८ हजार ३९५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस