
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सार्वजनिक बसका चालकले आफैं बसभित्र बसेर आगो लगाएका छन्। आगलागीबाट चालक घाइते भएका छन्।
प्रहरीका अनुसार बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले बसभित्रै बसेर आगो लगाएका हुन्। घटनाका बेला बसमा कुनै पनि यात्रु नभएको प्रहरीले जनाएको छ।
चालकले बसभित्रै आगो लगाएपछि बस ह्वारह्वार्ती बलेको थियो। आगलागी भएपछि तत्काल दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
आफैंले लगाएको आगोबाट जलेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
चालकले आफ्नै बसमा किन आगो लगाए भन्ने विषयमा यकिन भइसकेको छैन। प्रारम्भिक रूपमा ट्राफिक प्रहरीसँगको विवादपछि आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ। यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकाले विस्तृत अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्।