
हेटौंडा–काठमाडौं जोड्ने पुरानो तथा महत्वपूर्ण सडक मार्ग त्रिभुवन राजपथसमेत भासिएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–९, अघोर बजार नजिकै सडकको तल्लो भाग भासिएपछि यातायात प्रभावित भएको हो।
सडक भासिएपछि हाल उक्त स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। सडक विभागले जोखिमपूर्ण क्षेत्रमा ट्र्याक निर्माण तथा सडक मर्मतको काम अघि बढाइरहेको जनाएको छ।
यसअघि कृष्णभिर क्षेत्रमा त्रिशूली नदीले सडक बगाएपछि पूर्व–पश्चिमबाट काठमाडौं आउने–जाने ठूला मालवाहक सवारीसाधनका लागि त्रिभुवन राजपथ महत्वपूर्ण वैकल्पिक मार्ग बनेको थियो।
तर वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको त्रिभुवन राजपथसमेत भासिएपछि यात्रु तथा व्यवसायी थप चिन्तित बनेका छन्। सडकमा समस्या बढ्दै गए ढुवानी तथा आवागमनमा थप कठिनाइ हुनसक्ने देखिएको छ।
सडक विभागले प्रभावित क्षेत्रमा काम गरिरहेकाले यात्राका क्रममा सावधानी अपनाउन तथा सडकको अवस्था हेरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।