२०८३ आश्विन ३०, शुक्रबार

दसैँमा खसीबोका र च्याङ्ग्राको कारोबार बढ्यो, मूल्य पनि महँगियो

दसैँमा खसीबोका र च्याङ्ग्राको कारोबार बढ्यो, मूल्य पनि महँगियो

काठमाडौँ । बडादसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खसीबोका तथा च्याङ्ग्राको खरिदबिक्री बढेको छ। दसैँमा मासुका लागि खसीबोका किन्ने उपभोक्ताको चहलपहल बढेसँगै कलंकीस्थित खसीबजार र भक्तपुरको सल्लाघारीलगायतका स्थानमा कारोबार बढेको हो।
व्यापारीहरूले उपत्यकाका नजिकका जिल्लासँगै बझाङलगायत विभिन्न स्थानबाट खसीबोका तथा च्याङ्ग्रा ल्याएर बिक्री गरिरहेका छन्। दसैँमा मासुको खपत बढ्ने भएकाले बजारमा खसीबोका तथा च्याङ्ग्राको माग र कारोबार बढ्दै गएको छ।
व्यापारीहरूका अनुसार यस वर्ष जिउँदो खसीबोकाको मूल्य गत वर्षको तुलनामा बढेको छ। हाल बजारमा जिउँदो खसीबोका प्रतिकिलो ९०० देखि ९५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
त्यस्तै, च्याङ्ग्राको मूल्यमा भने खासै परिवर्तन नभएको बताइएको छ। बजारमा च्याङ्ग्रा प्रतिकिलो १ हजार २०० देखि १ हजार ३५० रुपैयाँसम्ममा खरिदबिक्री भइरहेको छ।
यसैबीच, विगतका वर्षमा दसैँ लक्षित सहुलियत दरमा खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष बजेट अभावका कारण बिक्री नगर्ने जनाएको छ।
कम्पनीले विगतमा बजार मूल्यभन्दा सहुलियत दरमा खसीबोका तथा च्याङ्ग्रा उपलब्ध गराउँदै आएको थियो। तर, यस वर्ष कम्पनीले बिक्री नगर्ने भएपछि उपभोक्ताले निजी व्यापारी तथा खुला बजारबाटै खसीबोका र च्याङ्ग्रा खरिद गर्नुपर्ने भएको छ।
दसैँको मुख्य दिन नजिकिँदै जाँदा बजारमा खसीबोका तथा च्याङ्ग्राको माग र उपभोक्ताको चहलपहल अझै बढ्ने अनुमान गरिएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस