२०८३ आश्विन ३०, शुक्रबार

दसैँ बिदामा पनि खुला रहने काठमाडौँ जिल्ला अदालत, बिहान ११ देखि दिउँसो ३ बजेसम्म सेवा

दसैँ बिदामा पनि खुला रहने काठमाडौँ जिल्ला अदालत, बिहान ११ देखि दिउँसो ३ बजेसम्म सेवा

काठमाडौँ । विजया दशमीका अवसरमा सार्वजनिक बिदा भए पनि काठमाडौँ जिल्ला अदालत खुला रहने भएको छ। काठमाडौँ जिल्ला अदालत, बबरमहलले दसैँ बिदाको अवधिमा अत्यावश्यक न्यायिक सेवा प्रवाह गर्न कार्यालय खुला राख्ने जनाएको हो।
अदालतले जारी गरेको सूचनाअनुसार शनिबार, फूलपाती र विजया दशमी अर्थात् टीकाको दिनबाहेक दसैँ बिदाका अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहनेछ। सो अवधिमा अत्यावश्यक कानुनी प्रक्रिया तथा न्यायिक सेवासम्बन्धी काम गरिने अदालतले जनाएको छ।
दसैँ बिदाका समयमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता, जरुरी पक्राउ पुर्जीको समर्थन तथा पक्राउ परेका अभियुक्तको म्याद थप गर्नेलगायतका सेवा उपलब्ध हुनेछन्। त्यस्तै, कल डिटेल्स (सीडीआर) प्राप्त गर्न अनुमति दिने र पक्राउ अनुमति प्रदान गर्ने कामसमेत गरिनेछ।
यसैगरी, धरौटी रकम दाखिला गर्न नसकेका कारण थुनामा रहेका प्रतिवादीले धरौटी बुझाउन ल्याएमा रकम बुझ्ने व्यवस्था पनि मिलाइएको अदालतले जनाएको छ। अदालतको फैसलाबमोजिम ठहर भएको जरिवाना तिरेर छुट्न सक्ने व्यक्तिका हकमा जरिवाना रकम बुझ्ने सेवा पनि उपलब्ध हुनेछ।
दसैँ बिदाका समयमा समेत अत्यावश्यक कानुनी प्रक्रिया प्रभावित हुन नदिन र सेवाग्राहीलाई आवश्यक न्यायिक सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कार्यालय खुला राख्ने व्यवस्था गरिएको अदालतले जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस