
काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट प्रतिबन्धित तथा नियन्त्रित लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। नियमित गस्ती तथा जाँचका क्रममा उनीहरूलाई विभिन्न प्रकारका लागुऔषधसहित नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षले जनाएको छ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१८ वाइवाई चोकबाट धादिङको नीलकण्ठ नगरपालिका–५ घर भई हाल ललितपुरको चुनिखेल बस्ने २२ वर्षीय नवीन आले मगरसहित दुई जनालाई ट्रामाडोलसहित पक्राउ गरिएको हो।
त्यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङबाट ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका छन्।
झापाको मेचीनगर नगरपालिका–२ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित ३९ वर्षीय मिलन मेचेसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैया खल्लाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पुनर्वासका ३० वर्षीय विशाल विक र कैलालीका २२ वर्षीय कुशल चौधरी पक्राउ परेका छन्।
यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका–१ हलगडा चोक तथा बरगाछी क्षेत्रबाट ट्रामाडोल र डाइक्लोमाइनसहित पर्शुराम गुरुङ र उज्ज्वल बुढाथोकी पक्राउ परेका छन्। उनीहरूका साथबाट दुईवटा मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट नाइट्राजेपामसहित सरोज बर्देवा पक्राउ परेका छन्। त्यस्तै, तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगरमा डेरा गरी बस्ने ३१ वर्षीय शिव मल्ललाई फेनारगन, डाइजेपाम र बुप्रेनोर्फिनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।